लगानी खबर, काठमाडौं - उपत्यकामा जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ । किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा गत साता लगाइएको रोक खुला गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी भएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकमा तीनै जिल्लामा निषेधाज्ञा पुनः केही समय थप विषयमा छलफल भएको र बुधबार निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
अब खाद्य पसल खोल्न पाइने
‘जारी निषेधाज्ञा जेठभर लागू गर्ने र किराना तथा खाद्य पसल, डिपार्टमेन्टल स्टोर सञ्चालन गर्न खुला गर्ने विषयमा छलफल भएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘थप निर्णय बुधबार हुन्छ ।’
खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
छलफलमा काम रोकिएकाले निर्माणस्थलमै आवासीय कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ । यी काममा संलग्न हुने कामदार कार्यस्थलभन्दा बाहिर जान पाउने छैनन् भने उनीहरूलाई खाने बस्ने व्यवस्था निर्माण कम्पनीले नै गर्नुपर्नेछ ।
कोरोना संक्रमणदर उच्च भएपछि गत १६ वैशाखबाट उपत्यकालगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा कायम छ । प्रसाशनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन नपाइनेगरी र सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
पछिल्लोपटक सरकारले कोभिड–१९ अध्यादेश २०७८ ल्याएपछि प्रशासनले निषेधाज्ञा कार्यान्वयनमा थप कडाइसमेत गर्दै आइरहेको छ । अध्यादेशमा अनुमतिबिना वा बिरामी ओसारपसार प्रयोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्न सक्ने उल्लेख छ । यो समाचार राजधानी दैनिकमा छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।