Like us!
Follow us!

१० महीनाको अवधिमा वस्तु निर्यात ३२.१९ प्रतिशतले बढ्यो

१० महीनाको अवधिमा वस्तु निर्यात ३२.१९ प्रतिशतले बढ्यो

लगानी खबर, काठमाडौं - चालू आर्थिक वर्ष २०७७/७८ को १० महीनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । 

यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७७/ ७८ को पहिलो १० महीनाको (साउदेखि वैशाखसम्म) तथ्यांकअनुसार यस अवधिमा रू. एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा रु ८२ अर्ब छ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

सरकारले गत आव २०६६/६७ मा रू. एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालू आवको दश महीनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।

यसैगरी दश महिनाको अवधिमा रू. १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रू. दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।

तथ्यांकअनुसार यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र शून्य दशमलव ५९ प्रतिशतले घटेको छ ।

विभागको तथ्यांकअनुसार १० महीनामा रू. ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो ।

गत वर्षको सोही अवधिमा नेपालले रू. नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१ दशमलव ४८ प्रतिशतले व्यापार घाटा भएको हो । रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।