Like us!
Follow us!

उपत्यकामा निषेधाज्ञा : पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

उपत्यकामा निषेधाज्ञा : पार्टी प्यालेसमा हुने विवाहमा रोक, अत्यावश्यक बाहेकका कार्यालय बन्द

लगानी खबर, काठमाडौं - कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा बिहीवार बिहानैदेखि लागू हुने गरी आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २२ गते पुनः एक साता थप गरिएको थियो ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरीद विक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुनेछ । मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन । 

सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।

यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ । हालसम्म मुलुकका ७३ ओटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।