Like us!
Follow us!

दोस्रो बजारका सेवाहरू देशव्यापी बनाउछौँ : अध्यक्ष ढुङ्गाना

दोस्रो बजारका सेवाहरू देशव्यापी बनाउछौँ : अध्यक्ष ढुङ्गाना

लगानी खबर, काठमाडौँ - नेपाल धिताेपत्र बाेर्डकाे अध्यक्ष भिष्म राज ढुंगानाले  दोस्रो बजारका सेवाहरू देशव्यापी बनाउने बताएका छन् । भिजन सेक्युरिटिजको नवलपुरको कावासोतीमा शाखा कार्यालयको समुदघाटन गर्ने क्रममा उनले धितोपत्रको प्राथमिक बजारको सेवालाई देशव्यापी बनाइसकेपछी अब दोस्रो बजारका सेवाहरू समेत देशव्यापी बनाउने क्रममा रहेको बताएका हुन् ।

यस कार्यले देशका कुनाकाप्चाबाट सर्वसाधारणले शेयर खरिद गर्ने तर सो शेयर विक्रीका लागि दोस्रो बजार सेवा स्थानीय तहमा उपलब्ध नहुँदा सर्वसाधारणले भोग्नुपरेको समस्याको समाधान हुने जिकिर उनले गरेका छन् । मन्तव्यकै क्रममा उनले शाखा कार्यालय विस्तारमार्फत् एकातिर संघीयताको सिद्धान्त अनुरूप पूँजी बजार स्थानीय तहसम्म विस्तार हुँदा स्थानीय स्तरको पूँजी परिचालन हुने र देशको आर्थिक विकास तथा रोजगारी वृद्धिमा स्थानीय समेत प्रत्यक्ष रूपमा सहभागी हुन पाउने वातावरण बन्ने धारणा राखेका छन्।

कार्यक्रममा बोर्ड अध्यक्ष ढुंगानाले पछिल्लो समय विशेष गरी २०७७ साल नेपालको पूँजी बजारको लागी ऐतिहासिक वर्षको रूपमा रहन गएको बताउँदै धितोपत्रको प्राथमिक निष्कासन, कारोबार रकम, बजार पूँजीकरण, नेप्से सूचकांकका साथै लगानीकर्ताको संख्याजस्ता परिसूचकहरूको आधारमा २०७७ साल हाम्रो लागी विशेष रहन गएको बताए। विभिन्न प्राविधिक तथा नीतिगत सुधारसँगै एउटै IPO मा १८ लाख भन्दा बढी लगानीकर्ताहरू सहभागी हुने अवस्थाको सृजना भएको बताउँदै बोर्डले पछिल्लो समय  बजारको सुधार तथा विकास विस्तारका लागि गरेका विभिन्न पहलहरूको  समेत जानकारी दिएका छन्।

ढुंगानाले हालको उपलब्धीको जगेर्ना गर्दै पूँजी बजारको क्षेत्र र दायरा थप विस्तार गर्नुपर्ने चुनौति रहेको बताउँदै २०७८ सालमा बोर्ड नेपालको धितोपत्र बजारमा नयाँ आयाम थप्ने गरी अघि बढिरहेको बताए । उनले यो वर्ष कारोबार प्रणालीको प्राविधिक सुधार एवं T+2 को प्रभावकारी कार्यान्वयन, थप लगानी उपकरणको व्यवस्था, गतिशिल एवं प्रभावकारी ऋणपत्र बजार सञ्चालन, ओटिसी बजारको यान्त्रीकिकरण लगायतका विषयहरूलाई विशेष प्राथमिकताकासाथ अगाडि बढाएको जानकारी दिएका छन् ।

त्यस्तै, मन्तव्यकै क्रममा अध्यक्ष ढुंगानाले सर्वसाधारण लगानीकर्ताको सिधा र नजिकको सम्बन्ध ब्रोकरसँग रहने हुनाले ब्रोकरले दिने सेवा, व्यवहारमा समग्र पूँजी बजारको चित्र प्रतिबिम्बित हुने भएकोले ब्रोकरले उत्कृष्ट व्यवासायिक सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । उनले ब्रोकरको पूँजीगत क्षमता अभिवृद्धि, व्यवसायिकता अभिवृद्धिका साथै कार्यक्षेत्र विस्तारलाई बोर्डले प्राथमिकतामा राखेको समेत जानकारी दिएका छन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।