Like us!
Follow us!

साप्ताहिक सेयर समिक्षा : ३ दिनको कारोबार हरेक दिन नयाँ नयाँ रेकर्ड

लगानी खबर, काठमाडौं - गत साता झैँ यो साता पनि नेपाली सेयर बजारका लागि एतिहासिक बनेको छ । नेप्सेले नयाँ वर्षको सुरूवाती दिनमै नयाँ अल टाइम हाइ रेकर्ड बनाएपछि लगानीकर्ताहरू पनि उत्साहित देखिन्छन् ।

आइतबार घोडे जात्रा र बुधबार नयाँ वर्ष परेको हुनाले यो साता ३ दिन मात्र सेयर बजार खुलेको थियो । ३ दिन खुलेको बजारमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनेको थियो।

यस साता नेप्से परिसूचक ६१ दशमलव ४ अंकले बढेर २७ सय ३५ दशमलव ३९ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक  ४२ दशमलव ४५ अंकले बढेर २६ सय ७४ दशमलव ३५ विन्दुमा रोकिएको थियो ।

यस साता सेन्सेटिभ परिसूचक पनि १५ दशमलव ९४ अंकले बढेर ४ सय ९२ दशमलव ४४ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक १० दशमलव १ अंकले बढेर ४ सय ७६ दशमलव ५१ विन्दुमा रोकिएको थियो ।

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि वृद्धी भएको छ । गत साता औसतमा दैनिक ७ अर्ब ४९ करोड भन्दा माथीको कारोबार भएकोमा यस साता औसतमा दैनिक ७ अर्ब ७९ करोड भन्दा माथीको कारोबार भएको छ ।  

बजार पुँजीकरणको कुरा गर्नुपर्दा गत साता ३७ खर्ब २ अर्ब रहेको बजार पुँजीकरण यस साता बढेर हालसम्म कै उच्च अर्थात् ३७ खर्ब ८७ अर्ब पुगेको छ ।

यस साता कारोबार भएका अधिकांश सूचीकृत समूहमा वृद्धि भएपनि ४ वटा समूहको सूचक भने घटेको छ । यस साता घट्ने समूहहरूमा अन्य, जलविद्युत, व्यापार र होटल तथा पर्यटन रहेका छन् ।

यस साता पनि सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता नै अग्र स्थानमा रहेका छन् । स्वदेशी लघुवित्तसँग मर्जरका कारण लामो समयसम्म एनआइसीको सेयर कारोबार रोक्का रहेको थियो । कारोबार खुलेसँगै संस्थाको सेयर लगातार सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश छ्याङदी हाइड्रोपावर लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा  नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश चन्द्रागिरी हिल्स लिमिटेड र रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साताको सेयर बजारलाई समग्रमा हेर्दा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो । गत वर्षको अन्तिम दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव २३ अंकले बढेर २७ सय १४ दशमलव ७९ विन्दुमा पुगेको थियो । अनि यस वर्षको पहिलो कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको छ । यो हालसम्म कै उच्च विन्दु हो । 

सेयर सूचीकरणको कुरा गर्नुपर्दा यस साता नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत भएको छ । सिभिल बैंक लिमिटेडको ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस सेयर, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ‘८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ को ४० लाख कित्ता ऋणपत्र, मञ्जुश्री फाइनान्स लिमिटेडको ‘९ दशमलव ५ प्रतिशत, ८ वर्ष मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र २०८५’ को ५ लाख कित्ता ऋणपत्र र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता बोनस सेयर यस साता नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेले हरियालीका साथ नयाँ वर्षलाई स्वागत गरेको छ । जसरी बिहानीले दिनको संकेत गर्छ भनिन्छ, त्यसरी नै नेप्सेमा यो वर्षको पहिलो कारोबार दिनले पनि यो वर्ष नेपालको सेयर बजार गुल्जार हुने संकेत गरेको छ ।

भिडियाे पनि :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।