Like us!
Follow us!

सर्वोत्तमको ३५ प्रतिशत लाभांश गैरकानुनी

सर्वोत्तमको ३५ प्रतिशत लाभांश गैरकानुनी

लगानी खबर, काठमाडौं - सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आफ्नो हालसम्मको रिजर्भबाट १० प्रतिशत बाेनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भन्ने कुरा गैरकानुनी रहेकाे छ । कम्पनीकाे याे कुरामा नेपाल धितोपत्र बोर्डले समेत आपत्ती जनाएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मंगलबार आयोजना गरेको सम्बाद कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सार्वजनिक निष्कासन अघि नै लाभांश घोषणा गर्ने विषयबारे आवश्यक छलफल भैरहेको जानकारी दिएका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका-२०७४ अनुसार कुनैपनी संगठित संस्थाले आफूले निष्कासन गर्न लागेको धितोपत्रको सम्बन्धमा जानकारी मूलक प्रचारप्रसार तथा विज्ञापन बाहेक लगानीकर्तालाई आकर्षित गर्ने अन्य किसिमको प्रचारप्रसार तथा विज्ञापन गर्न नपाइने प्रावधान रहेकाे छ । तर सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले भने उक्त निर्देशिकालाई चुनौती दिँदै लगानीकर्तालाई आकर्षित गर्ने किसिमको प्रचारप्रसार गरेको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्नु अगाडी नै लगानीकर्तालाई आकर्षित गर्न ३५ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ । याे कुरा गैरकानुनी हाे ।  कम्पनीले केही समय अघि कम्पनीकाे आईपीओको मूल्य ७५० किन भन्दै १५ वटा बुँदा सार्वजनिक गरेकाे थियाे । उक्त बुँदाकाे बार्हाैँ नम्बरमा यसाे भनेर  "कम्पनीले आफ्नो हाल सम्मको रिजर्भबाट १०% बाेनस सेयर र २५% नगद लाभांश दिने भएकोले, सेयर खरिदको तीन महिना भित्रै लगभग रु १०० बराबरको प्रतिफल प्राप्त हुने । यसरी सर्वसाधारण लगानीकर्ताको सेयर मुल्य ६७५–१०० बराबर ५७५ मात्र पर्न जाने ।​" लेखिएकाे छ ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये २४ लाख कित्ता संस्थागत लगानीकर्ताहरुलाई, ८ लाख कित्ता स्थानीय जिल्लावासीलाई  तथा कम्पनीका कर्मचारीलाई र बाँकी २८ लाख कित्ता सर्वसाधारणलाई  छुट्याइएको छ । 

कम्पनीले निष्कासन गर्न लागेकाे आईपीओकाे मूल्य ७ सय ५० रूपैयाँ ताेकिएकाे छ । संस्थागत लगानीकर्तालाई ७५० रूपैयाँ मुल्य तोकिएको छ । यता सर्वसाधारणहरूले भने ७५० रूपैयाँमा १०% घटाई ६७५ रूपैयाँमा सेयर पाउनेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि  निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई तथा सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेकाे छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।