साप्ताहिक सेयर समिक्षा : लगानीकर्ताले गुमाए ६५ अर्ब (भिडियोसहित)
लगानीखबर
शनिबार, २२ फागुन २०७७, ०८ : २३
मा प्रकाशित
लगानी खबर, काठमाडौँ - यस साता पनि सेयर बजारमा ठूलो उतार चढाव आएको छ । तर पनि लगानीकर्ताहरूले बजारमा आउने यस्ता उतारचढावलाई सामान्य रुपमा लिनुपर्ने विश्लेषकहरूकाे तर्क रहेकाे छ । यस साताको बजारमा लगानीकर्ताहरू ‘प्यानिक सेल’ को अवस्थामा देखिएका थिए ।
यस साता नेप्से परिसूचक ४७ दशमलव ४६ अंकले घटेर २५ सय ६ दशमलव ६८ अंकमा रोकिएको छ । गत साता नेप्से परिसूचक ८२ दशमलव ५४ अंकले घटेर २५५४ दशमलव १४ काे विन्दुमा राेकिएकाे थियाे । यस साताकाे पाँच काराेबार दिनमा नेप्से २ दिन अर्थात् साेमबार र बिहीबार बढ्याे बाँकी ३ दिन भने नेप्सेले ओरालो यात्रा तय गरेकाे थियाे ।
नेप्से परिसूचक सँगसँगै यस साता काराेबार रकममा पनि ६ अर्बकाे गिरावट आएको छ । याे साता बजार पुँजीकरण पनि ६५ अर्ब ७४ करोड ४४ लाख भन्दा बढीले घटेको छ ।
याे साताबाट नेप्सेले लगानी समूह थप गरेको छ भने होटल समूहलाई परिवर्तन गरी होटल तथा पर्यटन समूह बनाएको छ । यस साता काराेबार भएका १३ उपसमूहमध्ये, होटल तथा पर्यटन समूह र व्यापार बाहेक बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
यस साता सबैभन्दा धेरै कमाउने कम्पनीहरूकाे सूचीमा चन्द्रागिरी हिल्स लिमिटेड सबैभन्दा अग्र स्थानमा छ । त्यसपश्चात सबैभन्दा धेरै कमाउने दाेश्राे र तेश्राेमा क्रमश: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड रहेका छन् ।
यस साता नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।
यस साता पनि अघिल्लाे साता झैँ सबैभन्दा बढी रकमको कारोबार गर्ने र सबैभन्दा बढी कित्ता सेयर कारोबार हुने दुवैमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अग्र स्थान कायम गरेकाे छ ।
याे साताकाे नेप्से परिसूचकलाई समग्रमा नियाल्दा आइतबार नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेकाे थियाे । साेमबार भने नेप्से परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा पुगेको थियाे । मंगलबार फेरि ५९.७० अंकले घटेर २४५५.३३ मा पुगेकाे थियाे । बुधबार पनि सेयर बजारले अाेरालाे यात्रालाई निरन्तरता दिँदै नेप्से परिसूचक ३९.२३ अंकले घटेर २४१६ मा पुगेकाे थियाे । त्यसैगरी, साताकाे अन्तिम दिन बिहीबार भने सेयर बजारमा सकारात्मक उछाल आएकाे थियाे । बिहीबार नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेकाे थियाे ।
सेयर सूचीकरणकाे कुरा गर्नुपर्दा यस साता नेप्सेमा ४ वटा कम्पनीकाे बाेनस सूचिकृत भएकाे छ । प्रभु बैंक लिमिटेड, एसबिआई बैंक लिमिटेड, तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड र मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
अन्त्यमा, लगातार राताम्मै बन्दै गएकाे सेयर बजारले लगानीकर्ताहरू निराश रहेकाे बेलामा साताकाे अन्तिम दिन बिहीबार सेयर बजारमा आएको सकारात्मक उछालले भने लगानीकर्तालाई राहत दिएको छ । बिहीबार एकै दिन नेप्से ९० दशमलव ६७ अंकले बढी लगानीकर्तालाई खुसी बनाएर सातालाई बिदाइ गरेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।