Like us!
Follow us!

विद्युतीय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्न आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता

विद्युतीय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्न आइएमई र अल अहलिया एक्स्चेन्जबीच सम्झौता

लगानी खबर, काठमाडौं  - रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र नेपालको विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी (P2P) मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । 

समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन् । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज यूएईबाट नेपालको आइएमई पे मा सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ । 

यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट यूएइमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यस अवसरले सेवाग्राहीहरूलाई अल अहलिया एक्स्चेन्ज यूएइ बाट पठाएको रेमिट्यान्स नेपाल स्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ । 

रोजगारीका वा व्यापार व्यवसायका लागि यूएई भरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले अल अहलिया एक्स्चेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको अल अहलिया एक्स्चेन्ज का निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए । आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए । 

आइएमई पे ब्राण्डको प्रबन्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए ।  यूएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा यूएइको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे । 
वार्षिक आठ खर्बभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ । 

अल अहलिया एक्स्चेन्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ । सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएइ मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार रू. ६० सम्म बोनस पाउन  सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।