Like us!
Follow us!

सभामुखबाट नवनिर्वाचित सांसद सिटौलालाई शपथ

सभामुखबाट नवनिर्वाचित सांसद सिटौलालाई शपथ

लगानी खबर काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले  जनता समाजवादी पार्टी नेपालका तर्फबाट  प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद  तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिनुभएको हो । सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीकचिह्नअङ्कित लकेट प्रदान गर्नुभएको थियो । 
     तत्कालीन जनता पार्टी नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो । भारतले अतिक्रमण गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियता विपरीत भएको ठहर गर्दै पार्टीले  उहाँलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।
    प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य  समावेशी समूहको क्रमसङ्ख्या २ मा रहनुभएका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो । तत्कालीन नेकपा (माले)को विद्यार्थी सङ्गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गर्नुभएका सांसद सिटौला जसपाका संस्थापक सदस्य पनि हुनुहुन्छ । झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मनुभएका सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताउनुभयो । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।