लगानी खबर, काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा आज माघ १५ गते बिहीबार बैंककाे सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुम मार्फत बैंकको छैठौं विशेष साधारण सभा सञ्चालन गरिएकाे थियाे ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीद्वारा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव पारित भएको हो । यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर (१ः०.९६) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । 
यसै बीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको पनि मिति २०७७ माघ १५ गते, सम्पन्न वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।
एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिएका छन् ।
हिजाे माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा  हुनेछ । । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।  
 
 
                         
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।