Like us!
Follow us!

राजधानीमै सुध्रिएनन् स्थानीय तहका केन्द्रका सडक

राजधानीमै सुध्रिएनन् स्थानीय तहका केन्द्रका सडक

लगानी खबर काठमाडौं , जनताको मतबाट स्थानीयस्तरमै सरकार बनेपछि सबैलाई लागेको थियो अब सानातिना समस्या समाधान हुने भए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्ष बित्दासमेत फरक केही अनुभव हुन नसकेको गुनासो छ । राजधानी शहरकै काठ क्षेत्रका स्थानीय तहमा त उदाहरणी रुपमा विकास निर्माणका काम हुने विश्वास भए पनि त्यो पूरा नभएको गुनासो बढ्न थालेको छ । 
 
कागेश्वरी मनोहरा नगरपालिका–५ को थलीमा नगर कार्यपालिकाको कार्यालय छ । थली कागेश्वरी मनोहराको सिंहदरबार हो । यहाँका मूल सडक, भित्री सडक सबै रोपाइँ गर्न तयार पारिएका खेतका गराजस्ता देखिन्छन् । सडक बनाउन नगरपालिकाका र वडा कार्यालयमा जतिपटक अनुरोध गरे पनि काम हुन नसकेको स्थानीयवासी पूर्ण श्रेष्ठको गुनासो छ । “वर्षा लागेपछि घरअघि पानीको दह जम्छ, हिउँद शुरु भएपछि धुलोले घरअघि केही देखिँदैन, स्थानीय सरकार बन्नुअघि पनि हाम्रो दैनिकी वर्षामा हिलो र हिउँदमा धुलो खाएर बित्थ्यो, अहिले पनि त्यसरी नै बितेको छ, जतिसुकै तहका सरकार बने पनि हाम्रो दैनिकीमा कुनै सुधार हुन सकेको छैन”, उहाँले भन्नुभयो ।

नगर कार्यपालिकाको कार्यालयअघि थलीचौरस्थित मिलनचोकबाट मूलपानी जाने भित्री सडकमा गत आवमा बजेट पनि विनियोजन भएको थियो । सडक दायाँबायाँ पर्खाल बनाए पनि सडक बीच भागमा केही गरिएको छैन । पर्खाल बनाए पनि वर्षे व्यवस्थित हुन नसकेको स्थानीयवासीको गुनासो छ । नगरपालिकाको योजनामा काम हुँदा सडकमा सूचना पाटीसमेत नराखिएका के काम कति दूरीमा गरिएको हो भन्ने थाहा नभएको स्थानीयवासी सोमबहादुर तामाङले बताउनुभयो ।

जेठको अन्तिम हप्ता यो सडकमा पहिलो लेभलको ग्राभेल हालिएको थियो । त्यसपछि वर्षा हुन थालेकाले काम अघि बढ्न सकेको छैन । थली क्षेत्रका अन्य भित्री सडकको अवस्था पनि दयनीय छ । थलीचोकबाट सिम्खडागाउँ हुँदै वाग्मती नदीतिर निस्कने सडकमा पनि हिलो र पोखरीले हिँड्न नसकिने अवस्था रहेको स्थानीयवासीको गुनासो छ । 

यस्तो सडकमा सवारी गुडाउन समस्या छ । सवारी गुड्दा हिलोले दायाँबायाँ हिँड्नेलाई निथ्रुक्कै भिजाउँछ । दायाँबायाँका घरमा पनि हिलो छ्यापिने गरी सवारी गुड्ने गरेको छ । केन्द्र रहेको नगरपालिका वडा नं ५ का अध्यक्ष राजाराम पुडासैनी स्थानीय सरकारका तर्फबाट सकेसम्म भित्री सडकमा ग्राभेल हाल्ने, पोखरी पुर्ने काम भइरहेको बताउनुहुन्छ । “गुनासो गर्नेले स्थानीय सरकारको स्रोत, साधन एवं अधिकारले कति गर्न सकिन्छ भन्ने पनि बुझ्नुप¥यो, सकेसम्म भित्रका सबै सडकलाई हिँड्डुल गर्न सकिने बनाउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो । 

जोरपाटी–थली–साँखु मूल सडकसमेत अझै निर्माण सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का गरेको छ वर्षसम्म पनि सडक अलपत्र छ । ठाउँठाउँमा ठूला पोखरी जम्दा सवारी चलाउन असहज भएको चालक श्याम तामाङको गुनासो छ । डाँछीको ब्रह्मखेलको मूल सडकमा बनेको पोखरीले सवारी चलाउन डराउनुपर्ने परिस्थिति आएको उहाँले बताउनुभयो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।