लगानी खबर, काठमाडौं – नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन आह्वान गरेकाे छ । बैंकले बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जाकाे लागि आवेदन आह्वान गरेकाे हाे ।
पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले माघ १६ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा सञ्चालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ ।
यसैगरी, संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २० प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ । त्यस्तै, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक।वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएकाे छ ।
यसका साथै, पुनरकर्जाका लागि आवेदन गरिएको रकममध्ये ७० प्रतिशत लघु, घरेलु तथा साना उद्योग पुनरकर्जा अन्तर्गत हुनेगरी माग गर्नुपर्ने छ र आवेदनका लागि छनौट गर्दा प्रत्यक शाखाबाट ५ ग्राहक समेटिएको हुनुपर्ने बैंकले जनाएको छ ।
“नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” मा पुनरकर्जालाई मुख्य ३ वर्गमा वर्गीकरण गरिएको छ । लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जा गरी ३ वर्गमा वर्गीकरण गरिएको हाे । उक्त मस्याैदा अनुसार अनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा र साधारण पुनरकर्जामा बैंकहरुले ऋणिबाट ५ प्रतिशत व्याज लिन पाउने छन् भने विशेष पुनरकर्जामा ३ प्रतिशतसम्म व्याज लिन पाउने छन् ।
लघु,घरेलु तथा साना उद्यम पुनरकर्जा : उद्यमी स्वयम संलग्न भई सञ्चालन गरिएका उद्यम,व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।
विशेष पुनरकर्जा : बैंकले समय समयमा कुनै क्षेत्रलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।
साधारण पुनरकर्जा : माथिका २ पुनरकर्जामा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जाको रुपमा वर्गिकरण गरिएको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।