लगानी खबर, काठमाडौँ - नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई वितरण गर्दै आएको सिमकार्ड विद्यालयका कर्मचारी, अभिभावक र विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई समेत उपलब्ध गराउने भएको छ ।
टेलिकमले यसअघि विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि ‘पाठशाला सीयूजी सिम सेवा’ उपलब्ध गराएको थियो । कोरोना महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सीयूजी सेवा’ वितरण गरेको टेलिकमले जनाएकाे छ ।
उक्त अफरमा आवद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक पर्नेछ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सीयूजी सेवामा आवद्ध गर्न सकिनेछ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सीयूजी सेवा उपयोग गर्न सक्ने जनाएको छ ।
यस अन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूहमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्दछ । यसमा आवद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी र भ्वाइस सेवा उपलब्ध हुनेछ । यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् । उनका अनुसार समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत रहेको छ ।
कुनैपनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा समेत थप गरिएको कम्पनीले जनाएको छ ।
विद्यालयले ‘पाठशाला सीयूजी सिम’ मा आबद्ध हुने सम्पूर्ण शिक्षक, विद्यार्थी र अभिभावकको मोबाइल नम्बर र नाम सहितको विवरण तोकिएको ढाँचामा तयार गर्नुपर्दछ । सो विवरण स्थानीय तहको सिफारिसका साथ नजिकैको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गरी शुल्क भुक्तानी गर्नुपर्दछ । त्यसपश्चात् सो ग्रुपमा आवद्ध सबै मोबाइल नम्बरहरुमा एसएमएसमार्फत पाठशाला सीयूजी सेवाको जानकारी उपलब्ध हुने टेलिकमले जनाएकाे छ ।
आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधान बमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ ।
यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य रु. ९९ मात्र (सरकारी कर र स्वामित्व करवाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सीयूजी सेवा प्राप्त गर्न सक्नेछन् । यसका लागि स्थानीय तहको सिफारिश आवश्यक पर्नेछैन । उक्त अफरमा प्रयोग भएको सिमकार्ड अफर सकिएपछि पनि साधारण प्रयोगकर्ता सरह नै निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।