लगानी खबर, काठमाडौँ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत एक महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरिरहेको छ । महाशाखाले यसअवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारबाही गरेको छ ।
त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकोले कारबाही गरेको हो । यस्ता गलत गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ ।
त्यसैगरी, त्यस्ता किसिमका मोटरसाईकलहरू कतै कुदिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।