Like us!
Follow us!

लाभांश पारितसँगै अरुण भ्याली हाइड्रोपावरको साधारण सभा सम्पन्न : हकप्रद कहिले ?

लाभांश पारितसँगै अरुण भ्याली हाइड्रोपावरको साधारण सभा सम्पन्न : हकप्रद कहिले ?

लगानी खबर, काठमाडौँ - अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे २३औं वार्षिक साधारण सभा आज (पाैष ८ गते, बुधबार) कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएकाे छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

सभाले सञ्चालक समितिकाे बैठकले निर्णय गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत (कर प्रयाेजनका लागि) नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बुकक्लोज गरेकाे थियाे । त्यसैले, मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् । 

यसका साथै, सभामा कम्पनीकाे २१औं वार्षिक साधारण सभाले पारित गरेको १:१ अनुपातको हकप्रद शेयरमध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ (१:०५) को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ । 

कम्पनीले १ बराबर १ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २ सय रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न असोज २१ गते बुधबार नै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरिसकेकाे छ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । हकप्रद शेयर निष्कासन गरेपश्चात कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।

सभामा कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।