Like us!
Follow us!

ब्राेकर कमिसन किन घटेन ? कमिसन घटाउने कुरामा बाेर्ड कानमा तेल हालेर बसेकाे हाे त ?

ब्राेकर कमिसन किन घटेन ? कमिसन घटाउने कुरामा बाेर्ड कानमा तेल हालेर बसेकाे हाे त ?

लगानी खबर, काठमाडौँ - केहिदिन यता नेपालको सेयर बजारमा दैनिक अर्बाैको कारोबार भइरहेको छ । कारोबारमा लाग्ने ब्रोकर कमिसन भने दैनिक केही करोडको कारोबार हुँदाको जत्तिकै छ । बजारमा पेपरलेस कारोबार सुरू भएको लामो समय बितिसके पनि नियामक निकाय धितोपत्र बोर्डले कमिसन घटाउन चासो दिएकको छैन ।

बजारमा उच्च कारोबार भैरहेको छ । उच्च कारोबार हुँदा लगानीकर्ताले मात्र हैन नेप्से , ब्रोकर र धितोपत्र बोर्डले पनि राम्रो आम्दानी हात पारिरहेका छन् । दैनिक ६,७ अर्बको कारोबार भैरहँदा सबैभन्दा बढी फाइदा भने ब्रोकर अफिसहरूलाई भैरहेको देखिन्छ । बजारमा उच्च रकमको कारोबार हुँदा ब्रोकरहरू मालामाल भइरहेका छन् भने लगानीकर्ताहरू मारमा परेका छन् ।

नेप्से र धितोपत्र बोर्डले त लगानीकर्ता र ब्रोकरसँग गरि दोहोरो कमिसन लिइरहेका छन् । बाेर्डले लगानीकर्ताबाट प्रत्यक्ष र ब्राेकर फिजबाट कमिसन लिन्छ । बाेर्ड कमिसन घटाउने कुरामा कानमा तेल हालेर बसेकाे छ । त्यसैले लगानीकर्ताहरू आन्दाेलनमै जान बाध्य भएका छन् । 

नियामक निकायले ब्रोकरहरूलाई बैधानिमक रूपमै लुट्न छुट दिइरहेको छ । लगानीकर्ता सम्बद्ध विभिन्न संस्थाले पटकपटक ब्रोकर कमिसन घटाउन पटक पटक दवाव दिँदै आएका छन् । पछिल्लो पटक कार्तिक १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका थिए । उनीहरूको शेयर खरिदबिक्री गर्दा लिएको ब्रोकर कमिसन ०.४ देखि ०६ प्रतिशत घटाई अधिकतम ०.२५ प्रतिशत बनाउनु पर्ने माग छ ।

लगानीकर्ताको माग बोर्डले सुनुवाइ नगरेपछि लगानीकर्ता सम्बन्ध संस्थाहरूले शुक्रबारदेखि आन्दोलन गर्ने भएका छन् । उनीहरूले शुक्रबार धितोपत्र बोर्ड घेराउ गर्ने कार्यकम राखेका छन् । लगानीकर्ता सम्बद्ध ५ वटा संगठनले कमिसन घटाउन दवाव दिने आन्दोलमा साथ दिन सबै लगानीकर्तालाई आग्रह गरेका छन् । बोर्डले पनि ब्रोकर कमिसन घटाउने विषयमा अध्ययन भैरहेको भनेर टार्दै आएको छ ।

नेपालमा सेयर ब्रोकिंग कमिसन अचाक्ली भएको भन्दै घटाउनु पर्ने आवाज उठेपछि धितोपत्र बोर्डले अध्ययन गर्न एउटा समिति गठन गरेको थियो । उक्त प्रतिवेदनले पनि नेपालको ब्रोकिंग कमिसन दक्षिण एशियाकै दोश्रो महङ्गो भएको औंल्याएको थियो । समितिले प्रतिवेदनमा ब्रोकर कमिसन घटाउन सिफारिस गरेको थियो । उक्त प्रतिवेदन धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउन भने तत्परता देखाएको छैन । विभिन्न किसिमका धितोपत्रहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ । अझ अनौठो के छ भने नेपालमा दलाललाई कमिसन किन्ने र बेच्ने दुवैले तिर्नु पर्छ । लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेचमा कारोबार रकमको ०.६ प्रतिशत कमिसन तिर्नुपर्छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०।५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.५० प्रतिशत र २० लाखदेखि १करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत र सोभन्दा माथिको कारोबारमा ०.४० प्रतिशत कमिसन तिर्नुपर्छ ।

ब्रोकर कमिसन समायोजन गर्न धितोपत्र बोर्डले गतवर्षको भदौ २६ गते पुनर्मूल्यांकन समिति गठन गरेको थियो । उक्त समितिले एक वर्ष लगाएर यस वर्षको भदौ १२ गते आफ्नो प्रतिवेदन धितोपत्र बोर्डलाई बुझाएको थियो । बोर्ड नेतृत्वले सुझाव कार्यान्वयनमा आनाकानी गरिरहेको छ । अन्यत्रको अभ्यास हेर्ने हो भने नेपालको कमिसन बैज्ञानिक छैन । नेपालको भन्दा ठूलो शेयर बजार भएको भारतमा ब्रोकर कमिसन ० प्रतिशतदेखि ०.५ प्रतिशतसम्म छ । भारतमा ब्रोकरले ब्रोकर कमिसन लिन्नँ भन्न पनि पाइन्छ । त्यहाँ ब्रोकरकहाँ एक पटक खाता खोल्दा एकमुष्ट १० हजार रूपैयाँ तिरेपछि बर्षभरि जतिसुकै कारोबार गरे पनि अतिरिक्त कमिसन नलाग्ने त्यहाँका ब्रोकरहरूले व्यवस्था गरेका छन् । नेपालमा भने ०.४० प्रतिशतभन्दा कम कमिसन लिन्नँ भन्नै पाइँदैन । उत्तरको छिमेकी चीनमा औसत ब्रोकर कमिसन ०.०३१ प्रतिशत मात्रै छ। नेपालमा लगानीकर्ताहरूले ब्रोकर, नेप्से, र धितोपत्र बोर्डलाई छुट्टाछुट्टै शुल्क बुझाइरहेका छन् । जेसुकै नाममा रकम असुलिए पनि त्यो सेयर कारोबारको कमिसन नै हो ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।