लगानी खबर, काठमाडाैं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रूपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रूपैयाँले बढी हो ।
यसैगरी, कम्पनीको यस अवधिको प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १९ रूपैयाँ ९७ पैसाबाट बढेर २१ रूपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रूपैयाँले बढेको हो ।
गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रूपैयाँ बराबर थियो । जीवन बिमा कोषमा भएको वृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रूपैयाँले बढी हो ।
कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रूपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।