लगानी खबर, काठमाडौँ - कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिको लागि विभिन्न अस्पतालहरू र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान हिजाेदेखि शुरू भएको छ ।
नेपाल सरकारलाई विभिन्न अस्पतालहरूलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य करिब १.४ करोड रहेको छ । यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा एक-एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिनेछ ।
यो दोस्रो चरणको सामग्री वितरण अभियान माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको समुपस्थितिमा हिजाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा शुरूवात गरिएको हो ।
सोहि अवसरमा नेरेसो र कोका-कोलाबाट उपलब्ध गराईएको सामग्रीहरू मन्त्री ढकालले सुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा नेपाल रेडक्रसका कार्यबाहाक अध्यक्ष सर्मिला कार्की, महामन्त्री पिताम्बर अर्याल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल तथा केन्द्रीय सदस्य दीपेन्द्र ढकाल, निर्देशक पवन गुप्ता र कोका—कोलाका तर्फबाट कन्ट्री पीएसीएस म्यानेजर इरिना कार्की तथा ह्युमन रिसोर्स् डाइरेक्टर हरि शर्मा न्यौपानेको उपस्थिति रहेको थियो ।
हिजाे हस्तान्तरण गरिएका सामग्रीमा १०० थान सुरक्षा चस्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क २०० वटा रहेका छन् ।
त्यसैगरी, आगामी दुईहप्ता भित्र सात प्रदेशका तोकिएका अस्गतालहरूमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान शुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिनेछ । उत्त सामाग्रीहरू कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।