लगानी खबर, काठमाडौँ - अपि पावर कम्पनी लिमिटेडकाे गत आर्थिक वर्ष २०७६/ ७७ को लाभांश सुरक्षित गर्ने आज (कात्तिक २६ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले १७औँ वार्षिक साधारण सभा प्रयोजनको लागि मंसिर १ गतेदेखि ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज (कात्तिक २६ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीकाे कार्तिक १४ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १६औंं तथा १७औंं वार्षिक साधारण सभा मंसिर ८ गते, साेमबार कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौँबाट भर्चुअल माध्यम मार्फत बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेकाे छ ।
कम्पनीले १६औँ वार्षिक साधारण सभा प्रयोजनको लागि २०७६ साल चैत्र १ गतेदेखि चैत्र ७ गतेसम्म बुकक्लोज गरिसकेको छ। त्यसैले, फागुन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आर्थिक वर्ष २०७५/७६ को बोनस शेयर प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।