Like us!
Follow us!

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

लगानीखबर काठमाडौं, दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहनुभएका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आउनुभएको थियो ।

बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आउनुभएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि रु एक लाख ८१ हजार ४०५ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सामाजिक अभियानकर्मी लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगायतका व्यक्तिले मिर्गाैलापीडित श्रेष्ठको घर चितवन पुगेर  हस्तान्तरण गर्नुभएको हो ।

अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा दिनेश खनाल अध्यक्ष रहेको अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयोग रकम सङ्कलन गरेर पठाएको हो । तनहुँका विभिन्न पत्रिका तथा टिभी र सामाजिक सञ्जालमार्फत मिर्गौलापीडित राजु श्रेष्ठको जीवनरक्षाको खबर पाएसँगै सहयोगका लागि रकम सङ्कलन गरी पठाइएको समाजका महासचिव सूर्य खनालले बताउनुभयो । 

उपचारका लागि हालसम्म करिब रु २२ लाख सहयोग सङ्कलन भइसकेको पत्रकार श्रेष्ठले जानकारी दिनुभयो । अहिले डायलायसिस गर्न थालेको उहाँले बताउनुभयो । रु एक हजारदेखि माथि प्रायः दैनिकजसो बैंक खातामा सहयोग रकम जम्मा हुँदै आएकाले पतिलाई बचाउन सक्छु भन्ने आत्मबल बढ्दै गएको उहाँकी पत्नी बिमायाले जानकारी दिनुभयो । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।