Like us!
Follow us!

परिसंघद्वारा आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवर्द्धनमा जोड दिन राजदूतलाई आग्रह

परिसंघद्वारा आर्थिक साझेदारी विस्तार तथा द्विपक्षीय व्यापार प्रवर्द्धनमा जोड दिन राजदूतलाई आग्रह

लगानी खबर, काठमाडौं – नेपाल उद्योग परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षिय व्यापार प्रवर्द्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतसँग आग्रह गरेको छ । पाकिस्तानका लागि नेपाली राजदुत तपस अधिकारीसँग कार्यभार सम्हाल्न जानु अघि अन्तक्र्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो । 

महामहिम राजदूत अधिकारिसँगको अन्तक्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिँदै आएको र देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवर्द्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग परिसंघले संवाद तथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत रहेकाे बताएका छन् ।

दक्षिण एसियाली मित्रराष्ट्र पाकिस्तानसँगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदुतावासहरुको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदुतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले विश्वास व्यक्त गरेका छन् । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुदै पनि आपूर्ती प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल लिन पनि वरिष्ठ उपाध्यक्ष अग्रवालले राजदूत अधिकारीसँग आग्रह गरेका छन् । 

छलफलमा राजदूत अधिकारीले नेपाल र पाकिस्तान बीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ती प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्ने राजदूत अधिकारीको भनाइ थियो । 

त्यसैगरी, राजदुत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफुले पहल गर्ने विश्वास दिलाए ।  यसैगरी टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउने तर्फ ध्यान दिनु पर्ने पनि राजदुत अधिकारीले आग्रह गरेका छन् ।

सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले आर्थिक कुटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा दुतावास थप सकृय हुने विश्वास लिएको बताएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।