लगानीखबर काठमाडौं, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो ।
पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताउनुभयो । जग्गा कटान रोक्नका लागि गत वर्ष प्रदेश सरकारको रु ४० लाखको लागतमा बनेको १२० मिटर लामो तटबन्ध भत्किएपछि नदीले जग्गा कटान तीव्र बनाएको रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “तटबन्धको एक ठाउँमा १० फिट र अर्को ठाउँमा ७० फिट नदीको बाढीले भत्काएको छ ।” तटबन्ध भत्किएपछि झोलुङ्गे पुलसमेत खतरामा परेको उहाँले बताउनुभयो । तटबन्ध निर्माण ठेकेदारले राम्ररी नगर्दा भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।
तत्काल तटबन्ध निर्माण नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने ७५ घरधुरीमध्ये १५ घरधुरी नदीको उच्च जोखिममा पर्ने भएका छन् । स्थानीय मङ्गल चौधरी, बालसुग्रिव राना, शिवजी राना, फिर्ता रानालगायत आठभन्दा बढी परिवारको धान रोपेको जग्गा नदीले कटान गरिरहेको छ । हालसम्म पाँच कठ्ठाभन्दा बढी धान रोपेको जग्गा नदीको बाढीले बगाइसकेको चौधरीले बताउनुभयो । नदीमा अझै पानीको बहाव उच्च रहेकाले जग्गा कटान जारी छ । नदीले तीव्र जग्गा कटान गर्न थालेपछि दुई परिवार विस्थापनको सङ्घारमा पुगेका छन् ।
स्थानीय बासिन्दाको जग्गा कटान हुनबाट जोगाउन र झोलुङ्गे पुल जोगाउनका लागि तत्काल तटबन्ध मर्मत नै एक मात्रै विकल्प भएको वडाध्यक्ष बाले रानाले बताउनुभयो । तटबन्ध मर्मत र निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल भइरहेको उहाँको भनाइ छ । गत वर्षसमेत छ व्यक्तिको जग्गा बाढीले बगाउन थालेपछि स्थानीयवासीको आग्रहमा प्रदेश सरकारले तटबन्ध निर्माणकार्य अगाडि बढाएको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।