लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंकले COVID-19 बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरूप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको थियाे ।
यस योजना अनुसार मानौं कुनै रू. १ करोडको कर्जा वार्षिक १२ प्रतिशत ब्याजदरमा उपभोग गरिरहनुभएको एक ग्राहक भएमा उनले एक वर्षमा रू. ३ लाख रकम बराबरको लाभ लिन सक्नेछन् । उक्त लाभ हुनु भनेको यस योजनाका लागि योग्य ग्राहकको लागि उनले बैंकमा चुक्ता भुक्तान गर्ने ब्याज रकममा २५ प्रतिशतको लाभ हुनु हो । यस असाधारण समयमा ग्राहकहरूमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले यति धेरै लाभ हुनेगरी बैंकले यो योजना ल्याएको हो ।
यस योजनामा सहभागी हुन अब ९ दिन मात्र बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गरेकाे छ । यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी भई समयमै अतुलनीय फाइदाको लाभ उठाउन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।