लगानी खबर, काठमाडौँ - नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह – २०२० को अवसरमा पाँच दिनसम्म विविध कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।
बोर्डले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था (IOSCO) को एशोसिएट सदस्य भएपश्चात् उक्त संस्थाले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै आएको छ । सन् २०१७ देखि उक्त संस्थाले शुरु गरेको विश्व लगानीकर्ता सप्ताह सञ्चालनमा बोर्ड सहभागी भएर लगानीकर्ताको ज्ञान अभिवृद्धि तथा सवलीकरणका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आएको छ ।
यस वर्ष पनि उक्त संस्थाबाट असोज १९ गतेदेखि असोज २५ गतेसम्मकाे अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरिएकाले बाेर्डले उक्त सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि तयारी पूरा गरेकाे एक विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।
१. पहिलाे दिन (असाेज २१ गते, बुधबार)
लगानीकर्ता सप्ताह कार्यक्रमको पहिलो दिन असोज २१ गते बोर्डले धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी जानकारी तथा सचेतनामुलक विषेश कार्यक्रम रेडियो नेपालबाट प्रशारण गरेको छ ।
२. दाेश्राे दिन (असाेज २२ गते, बिहीबार)
बिहीबारर बुक विल्डिङ्ग पद्दतिबाट सार्वजनिक निष्कासनमा स्वतन्त्र मूल्य निर्धारणका सम्भाव्यता सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ । उक्त कार्यक्रम अपरान्ह ३ देखि ५ : ३० बजेसम्म आयोजना हुने बोर्डले जानकारी दिएको छ ।
३. तेश्राे दिन (असाेज २३ गते, शुक्रबार)
असोज २३ गते १ : ३० देखि ५ : ३० बजेसम्मको कार्यक्रममा समग्र धितोपत्र बजारको वारेमा सम्बन्धित निकायहरु बीच अन्तरक्रिया कार्यक्रम र लगानीकर्ताहरुले सूचीकृत कम्पनीहरुको विवरण प्राप्त गर्न सक्ने इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्रियवल सिष्टमको अनावरण गरी सञ्चालनमा ल्याउने कार्यक्रम तय भएको छ ।
४. चाैँथाे दिन (असाेज २४ गते, शनिबार)
असोज २४ गते लगानीकर्ताका लागि लगानी गर्ने सम्बन्धमा राष्ट्रिय पत्रिकाहरुमा सचेतना मूलक सामग्री प्रकाशन गर्ने ।
५. पाचाैँ दिन (असाेज २५ गते, आइतबार)
असोज २५ गते बोर्डको भूमिका सम्बन्धी एक बृत्तचित्र नेपाल टेलिभिजनबाट अपरान्ह ३ : ३० देखि ३ : ४५ सम्म प्रशारण गर्ने ।
बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।