Like us!
Follow us!

९३औं अस्कर अवार्डका लागि आवेदन खुल्ला

९३औं अस्कर अवार्डका लागि आवेदन खुल्ला

लगानी खबर, काठमाडौँ - नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ९३औं अस्कर अवार्डमा सहभागिताका लागि आवेदन खुल्ला गरेको छ । समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्रमा आफ्नो फिल्म नेपालको अस्कर कमिटीलाई बुझाउन आह्वान गरेको छ ।

यसअघि फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । नयाँ मिति अनुसार अस्कर अवार्ड अप्रिल २५ का दिन आइतबार लसएञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ ।  महामारीकै कारण अस्करले सहभागिताका लागि केही नियममा पनि परिवर्तन गरेको थियो । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने लचिलो प्रावधान एक थियो । अघिल्ला वर्षहरुमा कुनैपनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल यसरी हलमा रिलिज हुन नसकेका फिल्मले पनि अस्करको प्रतिस्पर्धामा सामेल हुन पाउनेछन् । यसका लागि सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ । त्योसँगै यसरी रोकिएका फिल्म हलमा नलागी स्ट्रिमिङ साइटमा आएका छन् भने पनि तिनले सहभागिता जनाउन सक्नेछन् ।

नेपालमा बिमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म कार्यकारी समिति रहेको छ । जसमा राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय, लोकेन्द्र पराजुली, राजुबिक्रम थापा, चिरञ्जीवी गुरागाँई र सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।