Like us!
Follow us!

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला : ११ ओटा काउण्टर थप

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला : ११ ओटा काउण्टर थप

लगानी खबर, काठमाडौं - दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन सोमवारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।  

एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्काले अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भएको बताएका छन् । सरकारले यस वर्षको दशैंका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।  

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यो वर्ष लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ ओटा टिकट बुकिङ काउण्टर थप गरेको छ ।  

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दशैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारी दिए । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिंदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुवैखाले टिकट वितरण गरिएको छ ।  

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ जना सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० जना सुरक्षाकर्मी खटाएको छ ।  

यस्तै, दशैँमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले बताए । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ ओटा टिकट काउण्टर थप गरेको जानकारी दिए। बसपार्कबाट हाल ३२ ओटा टिकट काउण्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छकाठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको सङ्ख्या कमी भएको जानकारी दिए।

महासचिव सिटौलाले यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताएका छन् । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ शुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।