Like us!
Follow us!

भारतमा एकै दिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिए

भारतमा एकै दिन झण्डै ९६ हजार जना सङ्क्रमित थपिए

लगानीखबर, नयाँदिल्ली - कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको भारतमा एकै दिनमा झण्डै ९६ हजार जना सङ्क्रमित थपिएका छन् ।  

एकै दिन यति धेरै सङ्क्रमित भएको यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । 

पछिल्लो विवरण अनुसार गत २४ घण्टामा भारतमा कुल ९५ हजार ७३५ जना मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । 

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको संख्या ४४ लाख ६५ हजार ८६४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये नौ लाख १९ हजार १८ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । 

मन्त्रालयका अनुसार अरु ३४ लाख ७१ हजार ७८४ जना भने कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेका छन् । 
भारतमा अहिलेसम्म ७५ हजार ६२ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार १७२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

भारतका प्रदेशहरु मध्ये सबैभन्दा बढी महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा २३ हजार ८१६ जना सङ्क्रमित भएका छन् । 

महाराष्ट्रमा अहिलेसम्म कुल नौ लाख ६७ हजार ३४९ जना सङ्क्रमित भएका छन् भने ती मध्ये दुई लाख ५२ हजार ७३४ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् । त्यहाँ अहिलेसम्म २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ  ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।