Like us!
Follow us!

आगलागीमा परेको दोभान बजार जुर्मुराउँदै

आगलागीमा परेको दोभान बजार जुर्मुराउँदै

लगानी खबर, काठमाडौं - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार पछिको दोस्रो ठूलो दोभान बजार स्थापित हुदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरूको पुनर्निर्माण हुन थालेसँगै दोभान बजार पूर्नस्थापित हुदै गएको हो ।  

मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको संगमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत  १९ फागुनमा बिहान भीषण आगलागी भएको थियो । ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरुप अर्थात् मुहार फेरिँदै गएको छ । 

हालसम्ममा ७० प्रतिशत संरचनाहरू पुनर्निर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए । 

करिब डेढ दर्जनभन्दा बढी घर संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिबेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको छ । 

साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको बराइली बताउँछन् । 
ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्लिसो, अदुवा लगायत निकासी हुने सबै वस्तुहरू दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ । यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्रको रूपमा दोभान बजार रहेको छ । 

व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनर्स्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माण सम्पन्न गरिसक्नुपर्ने बाध्यता छ । आगलागीबाट ४० करोड रुपैयाँ बराबरको क्षति भएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।