लगानी खबर, काठमाडौं - न घाम, न पानी, न हुरी, न बतास केहि कुराको प्रवाह नै हुन्न । सडकमा हुने सवारी चापलाई व्यवस्थित गर्नमै बित्छ ट्राफिक प्रहरीको दिन । दिनहुँ बढ्दो सवारी चापसँगै बढ्दो भिडभाड नियन्त्रण गर्न हम्मेहम्मे छ ट्राफिक प्रहरीलाई । त्यसैमाथि मुख नै दुख्नेगरि सिट्ठी फुक्नु ट्राफिक प्रहरीको बाध्यता हो ।
यतिबेला देश कोरोना महामारीबाट गुज्रिएको छ । दिनहुँ बढ्दो संक्रमणदरले आम मान्छेहरुमा त्रास बढ्दो छ । कोरोनाको त्रासले ग्रसित देश थोरै उठ्न नपाउँदै फेरि थालिने होकी भन्ने त्रासमा आम मान्छे छन् । कोरोनाबाट बच्ने सूत्र भनेको सामाजिक दूरी कायम राख्नु, अनिवार्य मास्क लगाउनु, सेनिटाईजर प्रयोग गर्नु र बारम्बार साबुन पानीले हात धुनु नै हो ।
तर यहाँ आम नागरिक स्वास्थ्य मापदण्ड अपनाईरहेका छैनन् । एकले मापदण्ड पालना नगर्दा दोश्रो व्यक्तिलाई समेत त्रास बढेको छ । भिडभाड दिनहुँ बढिरहेको छ भने कोरोना भाइरस संक्रमणदरको ग्राफ पनि उकालो नै लागिरहेको छ । यसो हुँदा पनि स्वास्थ्य मापदण्ड नअपनाउनु भनेको आफ्नो स्वास्थ्यप्रति नै गैरजिम्बेवार बन्नु हो ।
यस्तो जटिल परिस्थितिमा पनि ट्राफिक प्रहरी निरन्तर नागरिकलाई सुसूचित पार्न खटिरहेका छन् । ट्राफिक प्रहरी सवारी चाप र भीडभाड नियन्त्रण गर्नमात्र होइन नागरिकको स्वास्थ्यप्रति पनि पूर्णरुपमा उत्तरदायी बनिरहेका छन् । यसको उदाहरण हो "तपाईको मास्क खै ?" अभियान । यसका साथै, स्वास्थ्य सूरक्षा मापदण्ड अपनाउन आग्रह गर्दै सडक सडकमा माइकिङ पनि गरिरहेका छन् । मास्क लगाउनुपर्छ भन्ने सबैलाई थाहा छ । तैपनि कतिपय नागरिक यसको व्यवास्ता गरिरहेका छन् । स्वास्थ्य मापदण्ड अपनाउनै छाडेर खुल्लमखुल्ला हिडिरहेका छन् ।
नागरिक गैरजिम्वेवार बनिरहँदा ट्राफिक प्रहरी भने निरन्तर उनीहरुलाई सुसूचित गराउन लागि परिरहेका छन् । जबकी उनीहरु आफैं जोखिममा छन् । सिट्ठी फुक्दै गर्दा उनीहरु आफैंले मास्क लगाउन पाएका छैनन् । र पनि उनीहरु नागरिकलाई सूसुचित गराईरहेका छन् ।
ट्राफिक प्रहरीले अहिले जताततै तपाईको मास्क खोइ ? अभियान चलाएका छन् । हाम्रो निमित्त अहोरात्र खटिरहेका ट्राफिक प्रहरीलाई दुख नदिऔं । मास्क हाम्रै निम्ति हो, नियमित लगाऔं । आफू पनि स्वस्थ रहौं । अरुलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरौँ ।
सवारी साधनलाई मात्र होइन नागरिकको स्वास्थ्यप्रति पनि निरन्तर खटिरहने ट्राफिक प्रहरीको कथालाई फोटोमा हेरौं :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।