Like us!
Follow us!

साउन १ बाट सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, कुनको शुल्क कति ?

साउन १ बाट सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, कुनको शुल्क कति ?

लगानी खबर, काठमाडौं - साउन १ बाट सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने, कुनको शुल्क कति ? 
लगानी खबर, काठमाडौं - साउन १ गतेबाट सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ ।  यातायात व्यवस्था विभागले साउन १ बाटै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको हो । 

जसअनुसार सो मितीदेखि नयाँ दर्ता हुने र नवीकरण गरिने सवारीले अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ । इम्बोस्ड नम्बर प्लेट राख्न सवारी धनीले निश्चित शुल्क बुझाउनु पर्छ। विभागले यसको शुल्क करीब ६ महिना अगाडी नै निर्धारण गरिसकेको थियो ।

विभागले ठूलो सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ३ हजार ६ सय रूपैयाँ तोकिदिएको छ भने मझौला सवारी तथा सानो (चार पांग्रे) मा ३ हजार २ सय रूपैयाँ र सानो तीन पांग्रे सवारीमा २ हजार ९ सय रूपैयाँ तोकेको छ । त्यसैगरी, दुई पांग्रे सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २ हजार ५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

उक्त शुल्क निर्धारण अन्तराष्ट्रिय र वैज्ञानिक रुपबाटै गरिएको विभागले जनाएको छ । सरकारले अगामी ५ वर्षभित्र सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य राखेको छ । 

सरकारले आगामी सवारी साधन ट्र्याकिङ र सुरक्षाका लागि भन्दै सरकारले झन्डै ४ वर्षअघि इम्बोस्ड नम्बर प्लेट प्रणाली सुरू गरेको थियो। 

२०७३ जेठ १७ गते नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डेकाटुर टाइगर कम्पनीबीच पाँच वर्षभित्र २५ लाख इम्बोस्ड नम्बर प्लेट बनाएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो। तर विभिन्न कारण योजना अनुसार काम भएन। 

२०७४ भदौदेखि भने सरकारी सवारी साधनमा अनिवार्य र अन्य साधनमा ऐच्छिक रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था सुरू भएको थियो ।  सरकारी सवारी साधनमा यो लागू भए पनि निजी तथा अन्य सवारीले भने खासै चासो देखाएका थिएनन् । 

तर आगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुवातबाटै निजी तथा अन्य सवारी साधनले पनि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ । 

सवारीमा इम्बोस्ड नम्बर जडान गर्न विभागले छुटाछुट्टै ठाउँ तोकिदिएको छ । जसअनुसार २ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारा, ३ पांग्रे र साना मझौला ४ पांग्रे सवारीले सवारी परीक्षण कार्यालय, टेकुमा गएर इम्बोस्ड नम्बर जडान गर्न सक्नेछन् ।

त्यसैगरी, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा गएर जडान गर्न सकिने विभागले जनाएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।