Like us!
Follow us!

सेयर बजारमा पुनः रौनकता फर्कियो, फाइनान्स र हाइड्रोमा लगानीकर्ता आकर्षित

सेयर बजारमा पुनः रौनकता फर्कियो, फाइनान्स र हाइड्रोमा लगानीकर्ता आकर्षित

लगानी खबर, काठमाडौं - सेयर बजारमा एक साता पछि पुनः रौनकता फर्किएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि फेरि हरियाली छाएको हो ।

गत मंगलबार  नियामक निकाय नेपाल धितोपत्र बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । 

विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे ।

त्यसपश्चात सेयर बजारमा पहिरो गएको थियो । बोर्डको विज्ञप्तिपछि लगानीकर्ताहरु त्रसित भएका थिए । जसले गर्दा बजार निरन्तर ओरालो लागेको थियो ।

आज (मंगलबार) सेयर बजारमा भारी वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ बिन्दुमा पुगेको छ । आज नेप्से २.८० प्रतिशतले बढेको हो ।  त्यस्तै सेन्सेटिभ परिसूचक पनि १५.४७ अंकले बढेर ५३५.६१ बिन्दुमा पुगेको छ  ।

कूल २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।  

आज कूल १३ वटा उपसमूहमा १३ वटै उपसमूहको सेयर बढेको छ । आज पनि फाइनान्स र हाइड्रोपावर समूहको सेयरमूल्यमा सबैभन्दा धेरै बढेको छ ।

आज ३२ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

जसमध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, ङादी ग्रुप पावर, पन्चकन्या माई हाइड्रोपावर र जानकी फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, राधी विद्युत कम्पनी, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, नेशनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लगायत  कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।