Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट

लगानी खबर, काठमाडौं - सेयर बजारको ओरालो यात्राले आज (बिहिबार) पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो । आज नेप्से परिसूचक झिनो अंकले घटेको छ । 

यसअघि दिनहुँजसो नयाँ रेकर्ड राख्दै आइरहेको सेयर बजार मंगलाबार नेपाल धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिले प्रभावित बनेको हो । मंगलबार बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका ५१ कम्पनीहरुको नामावाली नै सार्वजनिक गरेको थियो । बोर्डले ५१ कम्पनीले सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.३० अंकले घटेर २९६८.४२ बिन्दुमा पुगेको छ । आज नेप्से ०.०४ प्रतिशतले घटेको हो ।  यता, सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले घटेर ५४१.१२ बिन्दुमा पुगेको छ  ।

कूल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको कारोबार भएको छ ।  

आज कूल १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ । 

बिहिबार डेभलपमेन्ट बैंक समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । त्यसैगरी, फाइनान्स, अन्य समूह, होटल एण्ड पर्यटन, निर्जीवन बीमा र जीवन बीमा समूहको सेयर बढेको छ, भने बैंकिङ्ग, व्यापार हाइड्रोपावर, उप्रवर्द्धन/उत्पादन, माइक्रोफाइनान्स, सामुहिक लगानी कोष र लगानी समूहको सेयरमूल्य घटेको छ ।

बिहिबार नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर नेपाल इन्स्योरेन्स कम्पनी, लुम्बिनी विकास बैंक, अपि पावर कम्पनी र ज्योति विकास बैंकले सर्वाधिक कारोबार गरेका छन् ।

आज खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, सोल्टी होटल, मल्टीपपर्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । 

यता, सीईडीबी हाइड्रोपावर, गोर्खाज फाइनान्स, माउन्टेन इनर्जी, हिमालयन पावर पार्टनर, फर्स्ट माइक्रो फाइनान्स,  ङादी ग्रुप पावर, ओरेन्टल होटल, स्वरोजगार लघुवित्त र इन्फिनिटी लघुवित्त र नेपाल एसआईबी बैंकका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।