Like us!
Follow us!

यी ८ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

यी  ८ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

लगानी खबर काठमाडौं - विभिन्न ८ वटा कम्पनीको साधारण सभा हुँदैछ । जसमध्ये ४ वटा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ भने ४ वटा कम्पनीको विशेष सभा हुँदैछ ।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड, नागरिक लगानी कोष र युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेका छन् । 
त्यसैगरी, नबिल बैंक लिमिटेड, युनाइटेड फाइनान्स कम्पनी लिमिटेड, नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड र सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले विशेष सभा आह्वान गरेका हुन् । यी कम्पनीको सभाले विभिन्न एजेण्डाहरुमाथि छलफल गरी पारित गर्नेछ ।

१.आइएमई लाइफ इन्स्योरेन्स कम्पनी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा भोलि (जेठ ३१ गते सोमबार) हुँदैछ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे  भर्चुअल माध्यमबाट सुरु हुनेछ । सभाले साह्द्रण सेयर (आईपीओ) निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यसैगरी, लेखापरीक्षण प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण लगायत एजेण्डाहरुमाथि पनि छलफल गरी पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ  । 
 
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ सर्वसाधारणमा निष्काशन गर्नेछ ।
हाल यसको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

२.नबिल बैंक लिमिटेड

नबिल बैंक लिमिटेडकाे विशेष साधारण सभा असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

३.युनाइटेड फाइनान्स कम्पनी लिमिटेड  

युनाइटेड फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा पनि असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

४.मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा असार ६ गते हुँदैछ । सभाले कम्पनीको वार्षिक प्रतिवेदन लेखापरीक्षण प्रतिवेदनसहिले वासलात नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ २४ गते, साेमबार बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

५. नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड
नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार ६ गते, आइतबार दिउँसाे ३ बजेदेखि अनलाइन मार्फत् हुनेछ । कम्पनीको उदेश्य संसोधन गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।


६. सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेड

सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा असार १० गते हुँदैछ  । कम्पनीकाे जेठ २५ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार १० गते तीनकुनेस्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयाेजनका लागि १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सभामा हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशाेधन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

७.  नागरिक लगानी कोष

नागरिक लगानी कोषको २६औँ वार्षिक वार्षिक साधारण सभा असार १८ गते, शुक्रबार हुँदैछ ।  कोषकाे उक्त सभा असार १८ गते काेषकाे केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडाैँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

सभाले, आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट काेषका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीकाे ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ८.८९४७ प्रतिशत नगद गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, काेषले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असार ८ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. युनियन हाइड्रोपावर कम्पनी लिमिटेड

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको संयुक्त वार्षिक साधारण सभा असार २५ गते हुँदैछ । कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गते हुन लागेको हो । 

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।